आफ्नो अधिकारको बारेमा थाहा पाउने बेला भयो

हाम्रो शहरमा विदेशी कामदारहरू एक अपरिहार्य दृश्य बनेका छन्। उनीहरुले हाम्रा अस्पतालहरू पुननिर्माण गर्छन्, हामीलाई बढी भएको वा नचाहिने सामानहरु पसलमा फिर्ता गर्छन, हामीलाई कफी ल्याईदिन्छन, तर हामीलाई आफ्नो हरियो, पहेलो र निलो झोलामा हाम्रो लागि खाना, घरायसी सामानहरू वा लुगा धुने सामग्रीहरु हालेर ल्याईदिने डेलिभरी गर्ने व्यक्तिहरु सबैभन्दा बढी चिनिएका छन्।

दस वर्षअघि हाम्रा शहरका सडकहरूमा रंगीन डेलिभरी झोलाहरू देखिदैन थिए। २०१८ मा जब डिजिटल प्लेटफर्महरू क्रोएसियाली बजारमा प्रवेश गरे, तिनीहरूले छिटो नाफा पाउने र सजिलो काम गर्ने समयको वाचा गरे। कामदारहरूलाई अर्थात् प्लेटफर्महरूले वर्णन गरेझैं "साझेदारहरू" लाई उनीहरू आफ्नै हाकिम बन्न सक्ने र उनीहरुले कहिले र कति काम गर्ने आफै निर्णय गर्न सक्ने वाचा गरेका थिए। त्यतिबेला, सजिलाताको त्यो "सपना" लोकल कामदारहरुले मात्र महसुस गर्न पाएका थिए।

प्लेटफर्महरू पहिलो पटक श्रम बजारमा प्रवेश गर्दा, उनीहरुले कामदारहरु र ग्राहकहरुलाईआकर्षित गर्ने प्रयासमा राम्रो सुविधाहरु दिने प्रस्ताव गरेका थिए ( जस्तै डेलिभरी गरेको काम शुल्क लिने, बोनसहरु दिने), यधपी, ठुलो बाचाहरुको बावजुद, कामदारहरुले प्लेटफर्म काम गर्दाको सबै समस्याहरु छिट्टै अनुभव गरे – गैरकानुनी रुपमा वा सम्झौताद्वारा तोकिएको समयभन्दा बढी समय काम गर्नुपर्ने, सुरक्षाकोअभाव, उनीहरुलाई कामदारको रुपमा उनीहरुले पाउनुपर्ने अधिकारबाट वन्चित गराउने, साथै आफ्नो सबै जिम्मेवारीहरु कामदारमा सर्ने ( जस्तै सावती साधनको बिमाको खर्च)। त्यसका साथै कामको सजिलता, एउटा कथा थियो र कथा नै रह्यो, किनभने कामदारहरु प्रायः जसो निश्चित समयमा, अर्थात् डेलिभरीको लागि उच्चतम माग भएको बेलामा एप्लिकेसनमा समावेश हुनुपर्छ।

त्यसैगरी, विभिन्न देशहरुमा अवस्थित प्लेटफर्महरूको यो मोडस अपेरान्डीको बारेमा युनियनहरूले वर्षौंदेखि चेतावनी दिँदै आएका छन्। यस प्रकारको काम गर्ने तरिकाको बारेमा आलोचककर्ताहरू, प्लेटफर्महरू ठेकेदारहरूमा बढ्दो रूपमा निर्भर भइरहेको औंल्याउँछन्। कामदारहरूलाई विभिन्न एजेन्सी (म्यानपावर) मार्फत ल्याईन्छ, र यसरी प्लेटफर्महरूले आफू र कामदारहरू बीच अधिकतम अन्तराल राख्छन्, जसले उनीहरूलाई रोजगारदाताको रूपमा हुने कुनै पनि दायित्वबाट जोगाउँछ।

"डिजिटल प्लेटफर्महरूले निरन्तर निगरानी, मनमोहक व्यवस्थापन, अप्रत्याशित कार्य योजना र अस्पष्ट अनुशासनका अभ्यासहरू अपनाएर, त्यसको परीक्षण गरी त्यसमा सिद्ध गरेका छन्," युरोपेली ट्रेड युनियन इन्स्टिच्युट (ETUI) लेख्छ।

डेलिभरी गर्नेहरूका लागि, आफ्नो स्वास्थ्यलाई जोखिममा पार्नु पनि कुनै नयाँ कुरा रहेन। उनीहरु आफ्नो काम गर्न सबै प्रकारका मौसमी परिस्थितिहरूमा - साइकलमा, मोपेडमा, स्कूटरमा, कारहरूमा - घण्टौं घण्टा सडकमा, ट्राफिकमा बिताउँछन्। २०२० महामारीको वर्षमा, हाम्रा धेरै बेरोजगार सहकर्मीहरूका लागि उपलब्ध रहेको थोरै जागिरहरू मध्य डेलिभरीकर्ताहरू एक थिए, जसबखत उनीहरु खाना, औषधि र अन्य सबै आवश्यक सामाग्रीहरु विभिन्न स्थानमा पुर्‍याउने अन्य आवश्यक कामदारहरू मध्ये एक साबित भए।

क्रोएसियामा, सुरुदेखि नै, डिजिटल प्लेटफर्महरू मार्फत काम गर्ने कामदारहरूको लागि (यहाँ हामी मुख्यतया डेलिभरी गर्ने व्यक्तिहरूको बारेमा कुरा गर्दैछौं,) काम गर्ने शर्तहरु "व्यवस्थित" गरिएको थियो, अर्थात् उनीहरु आफैँ "स्वतन्त्र रूपमा" काम गर्न सक्थे (कम्पनि वा ओबर्ट खोलेर स्वो-रोजगार दिने) अथवा एजेन्सी मार्फत ( प्लेटफर्म र कामदार बीचको “एजेन्ट” जसले औपचारिक रूपमा कामदारलाई रोजगार दिन्छ र उनीहरुसँग प्रतिशत लिन्छ)। समयसँगै, केही प्लेटफर्महरूले डेलिभरीकर्ताहरुलाई उनीहरूको कम्पनीमा प्रत्यक्ष रूपमा काम गर्न अनुमति दिएका छन्, तर उनीहरुको संख्या कति छ भन्ने कुरा अज्ञात छ।

रेवोल्ट पहलमा एकजुट भएका कामदारहरूले एग्रीगेटरहरू वा, उनीहरूले गोही भनेर सम्बोधन गरेका एजेन्सीद्वारा हुने समस्याहरु उल्लेख गरी विरोध प्रदर्शन गर्दै तिनीहरूको उन्मूलनको लागि आह्वान गरे। एग्रीगेटरहरू ग्रे जोनमा काम गर्छन्, उनीहरु डेलिभरी गर्ने मानिसहरूबाट कमिसन लिन्छन्, र रोजगारदाताको अन्य दायित्वहरूबाट पर सर्छन्। विदेशी कामदारहरू असुरक्षित छन् तथा प्लेटफर्म र एग्रीगेटरहरूको खर्च साथै आफ्नै डेलिभरी सवारी साधनको खर्च (जेसुकै होस्), र इन्धन खर्च आफै तिर्नु पर्दा उनीहरु आफुमा मात्रै भर पर्नुपर्छ” रिवोल्टले उल्लेख गरेको छ।

तर यस कहानीमा गोहीहरु धेरै छन्। अनि सबैले कमाईको केही प्रतिशत लिन्छन्।

२०२१ मा श्रम बजारको परिस्थितिमा ठूलो परिवर्तन आयो र अझ ठूलो समस्याहरु उत्पन्न भयो। अर्थात्, त्यस वर्षदेखि, क्रोएसियामा कार्य अनुमति जारी गर्नको लागि कोटा प्रणाली छैन, त्यसलाई अझै स्वत्रन्त्र गरियो। अभाव भएका पेशाहरूका लागि विदेशी कामदारहरूको आयात खुल्ला गरिएको छ, र अन्य अवस्थामा क्रोएसियाली रोजगार सेवा प्रणाली (HZZ) ले बजार परीक्षण लागू गर्दछ, अर्थात् घरेलु बजारमा श्रम शक्ति (कामदारहरु) उपलब्ध छ कि छैन भनेर जाँच गर्दछ। यदि छैन भने. रोजगारदाताले विदेशी कामदारहरु ल्याउन सक्छन् ।

वर्षौंदेखि, क्रोएसियामा सबैभन्दा धेरै विदेशी कामदारहरूमा बोस्निया र हर्जेगोभिना र सर्बियाका कामदारहरू थिए। अहिले त्यो परिवर्तन भएको छ। २०२४ मा मात्र, कुल २०६,५२९ आवास र कार्य अनुमतिपत्र जारी गरिएको थियो, जसमध्ये धेरैजसो बोस्निया र हर्जेगोभिनाका कामदारहरूलाई जारी गरिएको थियो, त्यसपछि नेपाल, सर्बिया, भारत र फिलिपिन्सका कामदारहरूलाई जारी गरिएको थियो। २०२५ को पहिलो तीन महिनामा मात्र ५३,६६२ बसोबास र कार्य अनुमतिपत्र जारी गरिएको छ, जसमध्ये धेरैजसो नेपाली कामदारहरूलाई दिइएको छ।

त्यसकारण, सबैलाई विदेशी कामदारहरूबाट फाइदा भएको छ - जागिरमा लगाउने प्लेटफर्महरू, सस्तो र प्रायः ब्ल्याकमेल गरिएका श्रमिकहरू फेला पार्ने रोजगारदाताहरू, साथै घरधनीहरू। सबैभन्दा ठूला नाफा कमाउनेहरूमा एजेन्सीहरू र एग्रीगेटरहरू पर्दछन् ।

क्रोएसिया आउन कामदारहरूले एजेन्सीहरूलाई प्राय: ७,५०० देखि १०,००० युरो तिर्छन्। कामदार र रोजगारदाता बीचको मान्छेको संख्या बढ्दै जाँदा र जटिलता बन्दै जाँदा कामदारले तिर्नु पर्ने रकम पनि बढ्दै जान्छ। क्रोएसियामा कामदार आउनको लागि आवश्यक पर्ने ठूलो रकम तिर्न सम्पूर्ण परिवार ऋणमा डुब्ने पनि हुन्छ। जब उनीहरू यहाँ आउँछन्, आफ्नो जीवनयापन खर्चको साथै, उनीहरूले आफ्नो देशमा ऋण तिर्छन् र आफ्नो परिवारलाई आर्थिक सहयोग पनि गर्छन्। सामान्यतया उनीहरुको काम गर्ने समय श्रम कानूनले तोकेको हप्ताको ४० घण्टाभन्दा बढी हुन्छ। कामदारहरूले हप्ताको छ(६) दिन, दिनको आठ देखि दश र कहिले १२ घण्ट सम्म पनि काम गर्ने गरेको उल्लेख गरेका छन्। डेलिभरीकर्ताहरूलाई थप आम्दानीद्वारा "प्रोत्साहित" गर्ने गरिन्छ, अर्थात् उनीहरूले गरेको डेलिभरीको संख्याको आधारमा बोनस पाउँछन् जसले गर्दा उनीहरूले प्रायःजसो न्यूनतम तलबको अतिरिक्त थप आम्दानी पाउँछन्। २०२४ मा डेलिभरी कामदारहरूको औसत कुल तलब ८६५.४० युरो थियो।

शोषणसँगै, विदेशी कामदारहरू विरुद्ध नराम्रो भनाईहरु पनि बढ्दो रूपमा चर्किदै गइरहेका छन्। "विदेशी कामदारहरूले श्रमको मूल्य एकदम घटाएका छन्" भन्ने बारेमा प्रायः चर्चा हुन्छ। यो धारणा स्थानीय जनसंख्याको एक भागले पनि राख्छन्, यद्यपि श्रमको मूल्य घटाउने विदेशी कामदारहरू नभएर अवसरको फाइदा उठाउने रोजगारदाताहरू हुन्। बसाइँ सरेका स्थानीय श्रम शक्तिले गर्दा लामो समयदेखि खाली गरेका जागिरहरू अहिले विदेशी कामदारहरूले गर्छन

तथ्याङ्कले न्यूनतम तलबमा काम गर्ने कामदारहरुको संख्यामा अविश्वसनीय रुपमा वृद्धि भएको पनि देखाउँछ। उदाहरणका लागि, अक्टोबर २०१४ मा, संकटको समयमा, ३०,००० भन्दा बढी कामदारहरूले न्यूनतम तलब बराबर वा सोभन्दा कम तलबमा काम गरेका थिए, र अहिले २,५०,००० भन्दा बढीले न्यूनतम ज्यालामा काम गर्छन्। दश वर्षमा, न्यूनतम तलबमा काम गर्ने कामदारहरूको संख्या आठ गुणाले बढेको छ! प्रायःजसो भनिन्छ कि विदेशी कामदारहरूले अपार्टमेन्टको भाडा मूल्य बढाएका छन्, यद्यपि भाडाको मूल्य कामदारहरूले नभएर घरधनीहरूले बढाएका छन् जसले परिस्थितिको फाइदा उठाएर भाडा बढौँछन्। र अधिकांश जनसंख्याको लागि अपार्टमेन्टहरू किन्न नसकिने बन्दै गए पनि, विदेशी कामदारहरू आफैं प्रायः अमानवीय अवस्थामा बसिरहेका छन्

ओम्बड्सम्यानले पनि आफ्नो २०२४ को प्रतिवेदनमा विदेशी कामदारहरूले सबै क्षेत्रमा सामना गर्ने समस्याहरूको बारेमा चेतावनी दिएको छ। कामदारहरूले अन्य कुराहरूका साथै, बसोबास र कार्य अनुमति बिना काम गरेको, उनीहरूको रोजगारदाताले उनीहरूलाई रोजगार सम्झैतामा उल्लेख गरिएको वा वाचा गरिएको तलब नदिएको र उनीहरूको तलबको एक अंश "नगदमा" भुक्तानी गरिएको गुनासो गरे; उनीहरुले गैरकानुनी रुपमा ओभरटाईम काम गरेको, ब्रेकको अधिकारबाट वञ्चित गरेको, काममा चोटपटक लागेमा त्यसको रिपोर्ट नगर्ने, रोजगारदाताले रोजगार सम्झौता नदिएको साथै अवैध बर्खास्तीको बारेमा पनि गुनासो गरेक छन्।

विदेशीहरूमाथि, विशेष गरी विदेशी कामदारहरूमाथि आक्रमणहरू धेरै बढ्दै गइरहेका छन्। आन्तरिक मन्त्रालयको प्रतिवेदनमा प्रस्तुत गरिएको तथ्याङ्कले, सन् २०२४ जनवरी १ देखि जुलाई ३१ सम्म, क्रोएसिया गणतन्त्रमा विदेशीहरू विरुद्ध ३२६ आपराधिक अपराधहरू रेकर्ड गरिएको बताउँछ, र धम्की दिने, विभिन्न खतरनाक कार्य वा माध्यमबाट जीवन र सम्पत्तिलाई खतरामा पार्ने, चोरी, डकैती र हिंसात्मक व्यवहार जस्तो आपराधिक अपराधहरूाको वृद्धि भएको रेकर्ड गरिएको छ जसमा ५२७ जना सिकार बनेका छन्। त्यसैगरी सन् २०२४ को अन्तिममा (Split) इस्प्लीटमा एक स्तब्ध पार्ने घटना घटेको थियो जसबखत विदेशी कामदारहरूमाथि धेरै ढुङ्गा प्रहार भएको थियो। उनीहरुले त्यसबेला डराएर भएतापनि काम गर्नुपरेको थियो। त्यस आक्रमण भएको हप्ताको अन्तमा (शनिबार र आईतबर), आफ्नो कामको प्रकृतिको कारणले गर्दा, एक्लै, साइकल वा स्कूटरमा आफूहरुलाई जे पनि हुनसक्ने डरले केहि कामदारहरु मिलेर एक प्रकारको मौन हडताल आयोजना गरेका थिए, यद्यपी दुर्भाग्यवश उनीहरु सजिलो निशाना बन्न सक्छन्। आक्रमणका साथै, उनीहरुलाई धम्की दिएर खाना र पैसा चोरी गर्ने कार्यहरु पनि धेरैजसो हुनेगर्छ।

अनि धेरैले नाफा कमाइरहेको बेला, हाम्रा सह-नागरिकहरू "हामी/तिनीहरू" भन्ने झूटो विभाजनको बोझ आफ्नो ढाडमा बोकिरहेका छन्। उनीहरूप्रतिको हाम्रो दृष्टिकोण हामीमा पनि प्रतिबिम्बित हुन्छ। ऐनाको अर्को छेउमा राम्रो जीवनको खोजीमा क्रोएसिया आएका मानिसहरू रहेका छन्।